कमल थापाप्रति राप्रपाको भरोसा

कमल थापाप्रति राप्रपाको भरोसा

शम्भु प्रसाद सापकोटा ‘अखण्ड’

सम्पूर्ण राष्ट्रवादी नेपाली नागरिकको चाहनाअनुसार एक भएको राप्रपाको हालैमात्रै एकता महाधिवेशन सम्पन्न भएको छ । गाउँ नगर, क्षेत्र, जिल्ला अघिवेशन हुँदै केन्द्रीय महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व चयन गरेको छ ।

केन्द्रीय महाधिवेशनले अहिले राष्ट्रले खोजेको जस्तो राष्ट्रवादी विचार बोकेका र राष्ट्रवादी शक्तिलाई समेट्न सक्ने आँट भएका नेता कमल थापालाई अध्यक्षमा चयन गरेको हो ।

कमल थापा अहिले पार्टी अध्यक्ष मात्रै नभई अध्यक्षको पनि अध्यक्ष पनि हुनुहुन्छ । पार्टी एकतापछि तथा महाधिवेशनअघि उहाँ राप्रपाको अध्यक्ष हुनुहुन्थ्यो । यस्तै राष्ट्रिय अध्यक्षमा प्रकाशचन्द्र लोहनी हुनुहुन्थ्यो ।

अर्का पूर्व राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनी र पार्टी अध्यक्ष पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द हुनुहुन्थ्यो । उहाँहरुबीचको सर्वसम्मत निर्णयबाट कमल थापालाई अध्यक्ष चयन गरिएको हो ।

अहिले उहाँमा धेरै चुनौति रहेका छन् तर आम नेता कार्यकर्ताका साथै देशले नै ठूलो आशा गरेको छ ।

२००७ मा प्रजातन्त्र आएपछि पनि विभिन्न कालखण्डका विभिन्न आन्दोलन भए भने २०६३–०६४ को १९ दिने जनआन्दोलनबाट गणतन्त्र घोषणा भएको थियो । तर त्यो गणतन्त्रले राम्रा कुराहरुलाई मासेको छ । मास्नै नहुने कुराहरुलाई मासेको छ ।

जनताको आस्थाको धरोहर राजतन्त्र मात्रै मासिएको छैन ९० प्रतिशत हिन्दुहरुको बसोबास रहेको देशलाई धर्मनिरपेक्ष बनाइएको छ । सीमांकनको नाममा देशमा आन्तरिक कलहको विचारोपण गर्ने दुस्प्रयास गरिएको छ ।

यी गलत विषयलाई सच्याउन थापाले निरन्तर संघर्ष गर्दै आउनु भएको स्पष्ट नै छ । आगामी दिनमा पनि यसलाई उहाँले थप सशक्त बनाएर अघि बढ्नै जानु पर्ने आम कार्यकर्ताको चाहना छ । जुन चाहना उहाँले पूरा गरेरै छाड्नु हुन्छ भन्ने विश्वास छ ।

पार्टी एकीकरण भइसकेपछि पनि सांगठानिक कार्यभार भूरा भएका छैनन् । अबको आवश्यकता बृहत राष्ट्रवादी एकता गर्नु हो । अहिले पनि धेरै राष्ट्रवादी शक्तिहरु बाहिर रहेका छन् । ती नेताहरुलाई नेतृत्वले समेट्नु पर्दछ ।

कतिपय गुमेका कुराहरुलाई पुनस्थापित गर्नका लागि तथा अहिले जारी समस्या समाधानका लागि सरकार पनि मुख्य हुन्छ । त्यही बुझेर थापा सरकारमा पनि सहभागि हुनु भएको छ ।

अहिले एउटा पक्षले संविधान संशोधन र अर्को पक्षले चुनावको विरोध गर्दै आएको अवस्थामा उहाँ ती यावत समस्याको समाधानका लागि सरकारमा जानु भएको हो । यी दुबै कुरालाई एकै ठाउँमा मर्ज गराएर थापाले अब राजनीतिक निकासमा नेतृत्वदायी भूमिका खेल्नुहुन्छ भन्ने विस्वास लिइएको छ । यो विश्वास तमाम, राप्रपाका नेता कार्यकर्ता र शुभेच्छुकको हो ।

अहिले घोषणा गरिएको चुनावको लागि राप्रपाले जिल्लादेखि क्षेत्र, गाउँ, नगरसबैतिर अभियान चलाउने निर्णय गरिसकिएको अवस्थामा राप्रपा आगामी चुनावमा बलियो शक्ति भएको उदाय.उदाउनेछ । यसमा कमल थापाको सशक्त नेतृत्व र उहाँको क्षमता नै प्रधान रहनेछ भन्नेमा दुई मत रहने छैन ।

आफ्नो चार वर्षे कार्यकालमा उहाँले देश र जनताको पक्षमा महत्वपूर्ण काम गर्नुहुनेछ भने यो पक्तिकारले विश्वास लिएको छ । यदी सक्नु भएन भने उहाँको पछि म, हामी सबैछौं, त्यसकारण पनि उहाँ पक्कै सक्षम हुनुहुनेछ ।

एकतासँगै कमल थापाको नेतृत्वमा पार्टी अब एक ढिक्का भएर अघि बढ्ने छ ।
कांग्रेसको समाजवाद, एमालेको माक्र्सवाद र माओवादीको माओवाद जस्तो राप्रपा होइन । राप्रपा त्यो पार्टी हो, जो यही माटोमा हुर्किए, पार्टीले जनताको पक्षमा काम गर्दै र राष्ट्रियताको पक्षमा आवाज बुलन्द पार्दै आएको छ र आगामी दिनमा पनि यसलाई पार्टीले आफ्नो मुलमन्त्रका रुपमा लिएर अघि बढाउने छ भन्ने आम कार्यकर्ताको विश्वास रहेको छ ।

यसो भएको खण्डमा पार्टीप्रति जनताको विश्वास थप बढेर जाने त छँदैछ, एजेण्डा पुर्नस्थापित गर्न समेत कसैले रोक्न सक्ने छैन ।

(सापकोटा राप्रपाको  केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् )

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल