स्थानीय निर्वाचनमा वातावरणीय मुद्दा

स्थानीय निर्वाचनमा वातावरणीय मुद्दा

खेमराज अवस्थी

आजका मितिसम्म सबै नेपालीलाई नगर तथा गाउँपालिका निर्वाचनले छोइसकेको छ । राजनीतिमा चासो राख्ने जोकोहीलाई चुनवले कुनै न कुनै रुपमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारेकोे छ । झण्डै बीसौँ वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचनको घोषणाले जनतामा उमङ्ग र राजनीतिक दलका कार्यकर्तामा जित हातपार्ने कसरत हुनु सामान्य हो । यो उमङ्ग प्रजातन्त्रप्रति आस्थावान राज्य व्यवस्थाप्रति प्रतिबद्ध, जनाधारको जग मजबुत भइरहेको सङ्केतका रुपमा लिन सकिन्छ । विगतका अभ्यास तथा अनुभवहरुलाई ख्याल गरी भन्ने हो भने नेपालमा मात्र नभई विश्वमै बहुदलीय व्यवस्था र त्यसअन्तर्गतको चुनावी पद्धति महँगो हुँदै गइरहेको छ । अर्कोतिर भोट दिने सर्वसाधारणको पनि गोप्य मतदानको एकद्वार प्रणाली परिवर्तन हुँदै गइरहेको छ । विगतका चुनवहरुमा वंशजको राजनीति संलग्नता, पार्टी सदस्याता तथा पुरानो चिनजानका आधारमा निर्वाचन जित्नेले जितेको जित्यै र हार्नेले हारेको हारै हुने अवस्था देखिए थियो । तर पछिल्ला चुनवी परिणाम र घटनाक्रमले व्यक्ति, उसको क्षमता र उठाइएका मुद्दाहरुलाई मुख्य आधार बनाइने गरेको पाइन्छ ।

वर्तमान सञ्चारको युगमा देशमा करिब ७० प्रतिशत साक्षरता पुग्नै लाग्दा व्यक्तिले राजनीति नबुझी कसैको पक्षमा भोट खसाल्ने सम्भावना छैन । त्यस्तै चुनवमा हार जित गराउने भनेको सक्रिय कार्यकर्ताले नभई कुनै पनि राजनीति दलसँग आबद्ध नभएका तथा उच्च बौद्धिक क्षमता भएकाहरुको सानो जमातले हो । किनभने नेपालका सबै नगर तथा गाउँपालिकाका वडामा प्रत्येक मुख्य राजनीति पार्टीहरुको आआफ्नो सङ्गठन छ र लगभग बराबरी नै कार्यकर्ता क्रियाशील छन् । त्यस्ता समूहमा आबद्ध सबैले आफ्नै दललाई मतदान गर्नेछन् तर त्यसरी मतदान गरिरहँदा मुख्य प्रतिस्पर्धी दलहरुको करिब बराबरी रहनेछ । तर फैसला मध्यमार्गी र उच्च बौद्धिक क्षमताको वर्गले गर्नेछ । विषेशगरी चुनावी फैसलामा अति परिचित नियम यही हो । त्यो मध्यमार्गी तथा बौद्धिक वर्गले अधिकांश निर्वाचन क्षेत्रहरुमा निर्णायक भूमिका खेल्दछ । त्यो वर्गलाई प्रभावित पार्न विश्वासिलो रणनीति अपनाउनुपर्ने हुन्छ ।

नेपाललगायत विश्वका धेरै राष्ट्रहरु वातावरणसम्बन्धी समस्याले ग्रसित छन् । यहाँ जलवायु परिवर्तन र वातावरणीय ह्रासका समस्याहरु दिनानुदिन बढ्दै गइराखेका प्रमाणहरु हाम्रा दैनिकी बनेका छन् । त्यसकारण राजनीतिबाट कुनै पनि संस्था तथा सङ्गठनलाई बचाउन नसकिएको अहिलेको परिवेसमा वातावरणीय राजनीति आवश्यक र सान्दर्भिक देखिन्छ । वातावरणीय राजनीति भनेको जसरी राज्य सञ्चालनमा राजनीतिलाई सर्वोपरी राखिन्छ । त्यसैगरी वातावरणका सवालहरुलाई सर्वोपरी राजनीतिमा मुख्य स्थान दिनु हो । वातावरणीय राजनीतिलाई आफ्नो राजनीति प्रचारशैली र सामाजिक चेतनाको आधार बनाई संरक्षण र सरसफाइ कार्यलाई चुनावी अभियानसँगै लैजाँदा भारतमा प्रधानमत्री नरेन्द्र मोदीले विजयी परिणम हात पारेका छन् । त्यसैगरी सन् १९८० को दशमा दार्शनिक क्षेत्रमा ‘इकोफेमिनिजम’ अर्थात् संरक्षणमा महिलाको वर्चस्व स्थिापित गर्ने अवधारणालगायत अहिले हाम्रो देशम अत्यधिक रुचाइएका बागमती सफाइ अभियानजस्ता कार्यक्रले अभियन्ताहरुलाई सामाजिक रुपमा स्थापित गरेकोले आउँदो नगर निर्वाचनमा सबैको साझा समस्या वातावरण संरक्षणमा आधारित ‘वातावरणीय राजनीति’ बनाउनु अत्यन्तै सान्दर्भिक र समय सापेक्ष देखिन्छ ।
स्रोत र साधनको कम प्रयोग गर्ने वातावरणमैत्री प्रचारशैली, ज्ञानबद्र्धक सभा समारोह, दीर्घकालीन रुपमा दिगो फोहोर व्यवस्थापन रणनीति, दिगो विकास, विपद् व्यवस्थापन रणनीति, जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने वस्तु तथा सेवाहरुको सरल र किफायति व्यवस्थापन, वन व्यवस्थापन, खानीको दीगो प्रयोग, वव्यजन्तुको दिगो व्यवस्थापन, पानी संरक्षण, प्रयोजन रणनीति र वायु प्रदूषण नियन्त्रण जस्ता सवालहरुलाई कलात्मक ढङ्गमा उठान गर्न सक्ने समूहले विजय प्राप्तिमा सहजता प्राप्त गर्न सक्दछ । किनभने अहिलेको अवस्थामा जनताले नयाँ र क्षतावान मान्छे खोजेका छन् ।

अहिलेका राजनीति दलसँग पत्यारलाग्दो नयाँ एजेन्डाको खडेरी परेको तीतो यथार्थसँगै विश्व परिवेश नै वातावरणका मुद्दासँग मुख्य लडाइँ गरिरहेको बेलामा वातावरणीय राजनीतिलाई सक्षमहरुको राजनीति रुपामा अनुसरण गरिएको खण्डमा जित मात्रै नभएर जितसँगै हाम्रो भविष्य पनि सकारात्मक दिशातर्फा जाकसक्ने देखिन्छ । यसले हामीलाई सकारात्मकता प्रदान गरी कटु रजनीतिक किचलोबाट समेत माथि उकास्न बल प्रदान गर्न सक्दछ ।

डडेल्धुरा

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल