आत्मनिर्भर बन्दैछन् गाउँका महिला

आत्मनिर्भर बन्दैछन् गाउँका महिला

जुना घर्ती मगर

आधा आकास ढाकेका महिलाहरु कुनै समयमा चुलो चौकोमा सीमित थिए । यो देशमा भएको राजनीतिक परितर्वनले उनीहरुको जीवनमा पनि परिवर्तन ल्याएको छ । कुनै समयमा पुरुषको आदेशमा चल्ने महिला अहिले आफैमा मेहनत गरेर स्वरोजगार बन्दै गएका छन् । पछिल्लो समयमा रोजगारको सिलसिलामा युवाहरु विदेशिने क्रम बढेको छ । यसले सामाजिक र आर्थिक परिवर्तन ल्याएको छ । केही काम गरेर व्यवसाय गरेर अगाडि बढ्न सकिन्छ भन्ने चेतनाको विकास भएको छ ।

यसमा पछिल्लो समयमा युवा स्वरोजगारले झन् बढी सहयोग गरेको छ । युवाहरुलाई आत्मनिर्भर र स्वरोगार बनाउन सहयोग गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत गाउँगाउँमा लगानी गरेको छ ।

यसै अन्तर्गत बर्दिया जिल्लामा पनि लगानी गरेको छ । अहिले यहाँका महिलाहरु व्यवसायमा रमाएका छन् । उनीहरु अहिले स्वरोजगार बनेका छन् । यसले गर्दा बर्दिया जिल्लाको आर्थिक तथा सामाजिक अवस्थामा धेरै परिवर्तन आएको छ । तराईमा पर्ने यो जिल्ला यातायात, शिक्षा, आर्थिक साथै भौगोलिक रुपमा विल्कुलै फरक छ । थारु जातिहरुको त्यो रहनसहन, सांस्कृतिक रीतिरिवाज, भाषा, भेषभुषाका साथै परम्परागत संस्कारहरुको संरक्षण पनि उत्तिकै जरुरी छ । अहिले यहाँका महिलाहरु धेरै चेतनशील भएका छन् ।

विशेष गरी बर्दिया जिल्लाको चौधरी बस्तीहरु पहिलेको भन्दा फरक भएका छन् । यस जिल्लामा धेरैजसो चौधरी जातिहरुको बसोवास छ भने ५० प्रतिशत जति अन्य जाति (मगर, बाहुन, क्षत्री, माझी दलित) हरुको बसोबास छ । बर्दियाको हरेक कुनाकुनामा बाटो त पुगेको छ तर यातायातको भने सुविधा कम छ । यदि यातायात सहज भएमा यो जिल्ला अझ धेरै विकास गर्न सक्छ । एक ठाउँबाट अर्को ठाउँ जान धेरै गाडी कुर्नु पर्ने समस्या छ ।

बर्दिया जिल्लाका मानिसहरु प्रायः जागिरभन्दा व्यवसायमा संलग्न छन् । सानै भए पनि सहकारीमा पनि त्यहाँका मनिस उत्तिकै अगाडि छन् । कसले बढी उत्पादन गर्ने र कसले बढी लगानी गरेर मुनाफा गर्न सक्छ भनेर सहकारी सहकारीबीच प्रतिपर्धा नै चलेको छ ।

प्रायः पुरुषहरुले सञ्चालन गरेका सहकारीभन्दा महिलाहरुले सञ्चालन गरेका सहकारीले राम्रो काम गरेका छन् । बर्दिया जिल्लाको सानो श्री ५, श्रीनगरमा सञ्चालनमा रहेको कुसुम्बादेवी वचत तथा ऋण सहकारी संस्था हो । यो महिलाहरुले मात्र सञ्चालन गरेको सहकारी हो । यस सहकारीमा महिला सहभागिताको उत्साह नै फरक छ । हेर्दा समान्य छन् विचार ठूलो छ, उनीहरुको एउटै आवाज थियो, सहकारी हाम्रो फाइदाको लागि होइन । हाम्रा सदस्यलाई सेवा दिन सकौँ, त्यो हाम्रो सहकारीको नाम हो । त्योसँगै थपेर भन्छन्, ‘हामी धेरै पढेका छैनौँ दिनभरी खेतबारीमा काम गर्दछौँ, बाँकी समय सहकारीलाई दिन्छौ । महिला हौँ महिलाबाटै गरेर देखाऊँ भन्ने भावना छ भन्छन् । यस सहकारीको आफ्नै भवन छ । भवनका भित्ताहरुमा यस्ता नाराहरु कोरिएका छन् ः
मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी, हृदयमा इमानदारी, काममा साझेदारी, भएमा मात्र चल्दछ सहकारी ।
शब्द जस्तै कार्य छ सहकारीको पनि । यस ठाउँका महिलाहरुको जीविकोपार्जनको प्रमुख आधार कृषि नै हो । प्रत्येक घरमा कुखुरा, बाख्रा र भैँसी पालन आयका प्रमुख स्रोत हुन् ।

बर्दियादेखि करिब ६० किलोमिटरभित्र चौधरी बस्ती छ । यो बस्तीलाई चौधरी बस्ती भनेर चिनिन्छ । चौधरी बस्तीमै जनकनगर होमस्टे सञ्चालनमा छ । होमस्टेमा चौधरी जातिको संस्कृतिक नाचगान प्रस्तुत गरी पाहुनालाई विशेष सम्मान गर्छन् । त्यहाँ चौधरीहरूका खाना, जाँड ( छयाङ), लोकल रक्सी आदिको व्यवस्थासमेत छ । पहिला अर्काको अधियाँ कमाएर जीविकोपार्जन गर्नेहरु अहिले आत्मनिर्भर बनेका छन् । यसमा सहकारी र होमस्टेको ठूलो योगदान छ ।

यहाँ पहिलाको जस्तो अवस्था अहिले छैन । आफै व्यापार गरेर आर्थिक स्थिति सुधारेको छन् । होमस्टे सञ्चालानले थप ऊर्जा दिएको छ । यस बस्तीका मानिसहरु व्यापार र कृषि दुवैमा उत्तिकै लागेकाले जीवनयापनमा धेरै ठूलो परिवर्तन आएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकीय स्थल भएकाले यो बस्ती अति नै रमणीय छ । त्यहाँ पुगिसकेपछि जीवनको आनन्द नै फरक जस्तो हुन्छ । हात्ती सफारी गरेर जङ्गली जनावरको अवलोन गर्न पाउँदा छुट्टै आनन्द आउँछ । त्यस क्षेत्रमा बसोवास गर्ने मानिसहरु व्यापारतिर नै सक्रिय छन् । धेरैजसो मानिस होटेल व्यवसायमा संलग्न छन् भने कोही फेन्सी पसल र अन्य व्यवसायमा पनि लागेको छन् । पर्यटकीयस्थल भए पनि यातायात तथा सडकमा भने धेरै सुधार गर्नुपर्ने छ ।

यसैगरी हिजोको र आजको रोल्पामा आकास पातलको फरक भएको छ । पहिला रोल्पाली बोल्न लजाउने गर्दथे । व्यवसाय एकदमै कमलै मात्र गर्थे । विभिन्न कार्यक्रम र तालिमहरुमा सहभागी हुने सङ्ख्या एकदमै कम हुन्थ्यो । तर अहिले रोल्पाली मानिस पनि व्यवसायतिर प्रभावित भएका छन् । आर्थिक स्थिति पनि पहिलेको भन्दा एकदमै अगाडि छ । साथै शिक्षा, स्वास्थ्य र अन्य क्रियाकलापमा पनि उत्तिकै अगाडि छ ।

रोल्पाको सदरमुकाम लिवाङबाट हिँडेर करिब ३ घण्टामा पुगिन्छ गुरुङ गाउँ होमस्टे । यहाँ गुरुङ बस्ती छ । यो होमस्टे गुरुङ महिलाले नै सञ्चालन गरेका छन् । होमस्टेमा गएका पाहुनाहरुलाई गर्ने संस्कार, स्थानीय जातिको नाचगान, गाजाबाजा आदिले सम्मान गर्ने गर्दछन् । होमस्टे सञ्चालान गरेपछि त्यहाँका बासिन्दा व्यस्त भएका छन् । यसले त्यस क्षेत्रका नागरिकको आर्थिक अवस्था माथि उकास्ने काम गरेको छ ।
सामाजिक, आर्थिक रुपमा यहाँका महिला धेरै अगाडि बढेका छन् । एक्काइसौँ सताब्दीका महिला हुने जमर्को गर्दैछन् । बर्दिया र रोल्पा दुवै जिल्लामा महिलाहरु आत्मनिर्भर बन्दै छन् । सहकारीका माध्यमबाट कृषि व्यवसायमा लागेका छन् । यसै आधारमा उनीहरुले नेतृत्व क्षमताको विकास गरिरहेका छन् । उनीहरु भन्छन् ‘हामी केही गर्न चाहान्छौँ तर घरपरिवारको कामले व्यस्त हुनाले धेरै अवसरको सदुपयोग गर्न सकेका छैनौँ । सरकारले पनि महिला भनेर सहज रुपमा सहयोग गर्दैन । यसैले हामी योभन्दा माथि जान सकेका छैनौँ ।’

अतः सबैले नेपाल कृषि प्रधान देश भन्दै भाषण गर्छन् तर ठोस कार्यक्रम ल्याएको देखिँदैन । राज्यले गाउँघरमा कृषिमा आधुनिकीकरणमा जोड दिने हो भने नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न धेरै समय लाग्दैन । यसका लागि राज्यले ठोस नीति ल्याउनु आवश्यक छ । राज्यले पलायन हुने युवालाई देशमै व्यवसाय गरी बस्नसक्ने ठोस पहल गर्नुपर्छ ।

राज्यले कृषिमा सहुलियत, किसानलाई तालिमको व्यवस्था गर्ने हो भने नेपाल आर्थिक समृद्धिको बाटोमा हिँड्ने छ । यसका लागि घोषणा पत्रमा होइन राज्यसञ्चाल गर्ने दलहरुले व्यवहारमा ल्याउन आवश्यक छ ।

महिलालाई आधुनिक कृषि प्रणाली र अन्य व्यापार व्यवसायका लागि थप उत्साह र लगानी गर्न आवश्यक छ । गाउँगाउँमा जागरुक भएका महिलाहरुलाई राज्यले अलिकति पहल गर्ने हो भने दुरदराजका गाउँ बस्ती आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने छन् । राज्य नै युवालाई विदेश पठाउने काममा सक्रिय रहन्छ । विश्वमा आजसम्म कुनै पनि देश रेमिट्यान्सबाट समृद्ध भएको छैन । यसका लागि आत्मनिर्भर र स्वआयआर्जन नै पहिलो सर्त हो । जबसम्म राज्यले आफ्नै स्रोत र साधनको प्रयोग गरेर विकासका काम गर्न प्रोत्साहन पाइँदैन तबसम्म अरु देशबाट ल्याएको रेमिट्यान्सले देश धनी बन्दैन । यसका लागि राज्य अब तयार हुनुपर्छ । देश सङ्घीय प्रणालीमा गएको छ । यसका लागि पनि छिटो नियम कानुन ल्याएर युवाहरु पलायन रोकी देशमा नै स्वरोजगार हुने अवस्था सृजना गर्नुपर्छ । यो नै अहिलेको प्रमुख आवश्यकता हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल